सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछन् ।
आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
चर्च ब्वाइज आज चौथो जितको खोजीमा हुनेछ भने चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेर चौथो स्थानमा रहेको छ। एपीएफ पनि चौथो जितको तयारीसहित मैदान उत्रिँनेछ भने एपीएफ १० अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।
चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेन्ड्स क्लब आज दोस्रो जितको खोजीमा रहने छ भने फ्रेन्ड्स क्लबले ६ खेलमा ४ अंक जोडेर १३औँ स्थानमा रहेको छ । एक अंक जोडेर पुछारमा रहेको विभागीय टोली पुलिस भने पहिलो जितको खोजीमा रहने छ। क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो २ बजेबाट नै सुरु हुनेछ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
शीर्ष स्थानमा रहेको मनाङ पाँचौँ जितको लक्ष्यमा रहने छ भने मनाङले ६ खेलबाट १४ अंक जोडेको छ ।
थ्री स्टार क्लब चौथो जितको खोजीमा हुनेछ भने ६ खेलबाट १० अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।
मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीचको खेल साझ ५ः४५ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया