बलियो इंग्ल्यान्ड र तीन देशको प्रतिस्पर्धा - Khel Sarokar

बलियो इंग्ल्यान्ड र तीन देशको प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

बलियो इंग्ल्यान्ड र तीन देशको प्रतिस्पर्धा

लन्डन — इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स एउटै समूह ‘बी’ मा पर्नु भनेको राजनीतिक रूपमा तनाव पनि हो । कतार विश्वकपमा औसतमा फिफा वरीयतामा सबैभन्दा माथि रहेको समूह हो यो ।
लगातार ६ खेलमा जितविहीन रहेर मध्यपूर्वको यात्रा गर्ने भए पनि इंग्ल्यान्ड विनाशंका सबैभन्दा बलियो टिम हो । गारेथ साउथगेटको टिम ५६ वर्षयताको मुख्य प्रतियोगिताको उपाधि खडेरी कतारमा तोड्न चाहन्छ । ‘द थ्री लायन्स’ पछिल्लोपल्ट उपाधि नजिक पनि पुगेको थियो । चार वर्षअघि विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्यान्ड घरेलु भूमिमा भएको युरो २०२० को फाइनलमा चुकेको थियो ।

साउथगेटको टिमलाई विश्वकप तयारीमा क्लब फुटबलमा व्यस्त खेल तालिकाले असर पारेको छ । त्यसैले उसलाई समूह चरणको तयारीमा साह्रै थोरै समय छ । इंग्ल्यान्डको डिफेन्समा चोटको चिन्ता पनि छ । रिस जेम्स र केली वाकर चोटमुक्त हुनेमा शंका छ । म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मगायरलाई म्याच फिटनेसमा समस्या छ ।

इंग्ल्यान्ड ‘ओपन प्ले’ अवसर सिर्जना गर्न नसकेको समस्याबाट गुज्रिएको छ । हालैका महिना जर्मनी, हंगेरी वा इटालीलाई दुईपल्ट पारजित गर्न नसकेपछि इंग्ल्यान्ड यूईएफए नेसन्स लिगबाट रेलिगसनमा पर्‍यो । विश्वकपअघिको अन्तिम प्रतिस्पर्धात्मक खेलमा जर्मनीविरुद्ध ३–३ को नतिजा निकाल्दै इंग्ल्यान्डले गोलको खडेरी तोडेको थियो । तर, साउथगेटको टिममा मेसन माउन्ट, फिल फोडेन, बुकायो साका र जुड बेलिङघमलाई नियमित रूपमा क्लबमा गरेजस्तै अन्तर्राष्ट्रिय खेलमा पनि गोल गर्ने दबाब बढेको छ ।

इंग्ल्यान्डको आशा कप्तान ह्यारी केनको लयमा निर्भर हुनेछ । टोटेनहम हर्टस्परका उनी अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डकै सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक पुगेका छन् । उनी वायन रोनीको कीर्तिमान ५३ गोलभन्दा दुई गोलले मात्रै पछाडि छन् । उनी विश्वकपमा अर्को ‘गोल्डेन बुट’ अवार्डका एक मुख्य दाबेदार हुन् ।

प्रतिक्रिया