भारतबिरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल अण्डर २० महिला साफको फाइनलमा - Khel Sarokar

भारतबिरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल अण्डर २० महिला साफको फाइनलमा

Khel Sarokar

खेल सरोकार

भारतबिरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल अण्डर २० महिला साफको फाइनलमा

चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्ताफा स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको भारतबिरुद्ध पहिलो हाफमा १-० ले पछि परेको खेलमा पुनआगम जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

नेपालको जितमा अञ्जली चन्द, कप्तान प्रिती राई र अमिषा कार्कीले १-१ गोल गरिन भने भारतका लागि अपूर्ण नर्जरीले एक गोल गरिन् ।

खेलको २० औं मिनटमा सुमती कुमारिको पासमा भारतकी अपूर्णले गोल गरेपछि नेपाल पहिलो हाफमा १-० ले पछि परेको थियो ।

 

तर, ४७औँ मिनेटमा अञ्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रिति राईले ६८औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेपालाई २–१ को अग्रता दिलाइन् ।

अग्रता बनाएपछि भारतमाथि हाबी भएको नेपालका लागि अमिसा कार्कीले निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै ३–१ को जित दिलाइन् ।

यसअघि पहिलो खेलमा आयोजक बंगलादेशसाग ३-१ गोलले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई ४(० गोलले पराजित गरेको थियो ।

नेपाल फाइनलमा पुग्दा पराजित भारतले भने अब राउण्ड रोबिनको अन्तिम खेलको नजिता पर्खनुपर्ने भएको छ । समान खेलबाट ४ अंक जोडेको भारत दोश्रो स्थानमा छ ।

राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेशबिच प्रतिस्पर्धा हुनेछ। बंगलादेश ४ अंक जोडेर तेश्रो स्थानमा रहेको छ भने दुवै खेलमा पराजित अंक विहीन भुटानको फाइनलमा पुग्ने सम्भावना समाप्त भईसकेको छ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोबिनको आधारमा भइरहेको च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया