विश्वकप फुटबलको आयोजक कतारले आफ्नो एक रङ्गशाला केही दिनमा नै भत्काउने तयारी गरेको छ। कतार विश्वकपका लागि तयार गरिएको अस्थायी रंगशालाका रूपमा रहेको स्टेडियम ९७४ भत्काउन लागिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रूपमा भत्काइने जनाइएको छ। नामका कारण चर्चामा रहेको स्टेडियम ९७४ मा विश्वकपका ७ खेलहरू आयोजना भएका थिए।
यो रङ्गशालामा अन्तिम खेलका रूपमा सोमबार राति ब्राजिल र दक्षिण कोरियाबीच प्रि-क्वाटरफाइनलको खेल भएको थियो। जहाँ ब्राजिलले ४-१ प्रभावशाली जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गर्याे।
स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यो रङ्गशालामा खेर गएका स्टिल ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर बनाएका कारण यसको नाम नै ९७४ स्टेडियम राखिएको थियो।
साथै, कतारको कन्ट्री कोड समेत ९७४ हो, सोहीअनुसार यसको प्रयोग गरिएको थियो। यो अस्थायी रङ्गशाला भएकाले पूर्ण रूपमा भत्काइने जनाइएको छ।
दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो । खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको केही समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान् खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।
२९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गर्दा कप्तान थियागो शिल्भाले पास उपलब्ध गराएका थिए । ४-३-३ फर्मेसनमा टिम उतारेको ब्राजिली प्रशिक्षक टिटेले अग्रपंक्तिमा नेइमार, भिनिसियस र रिचार्लिसनलाई जिम्मेवारी दिएका थिए ।
प्रतिक्रिया