नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कार मुद्दामा आज पेसी तोकिएको छ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशव प्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ । गत चैत १३ गते पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि सन्दीप लामिछानेका कानुन व्यवसायीले वहस स्थगित गराएका थिए ।
सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’ बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
त्यसपछि जिल्ला अदालतले उनलाई कारागार पठाएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले लामिछानेलाई विदेश खेल्न जाने अनुमति समेत दिएको थियो।
प्रतिक्रिया